ट्रेन्डिङ

मधेसका मुख्यमन्त्री काठमाडौंबाट फर्किएपछि मात्रै मन्त्रीपरिषद विस्तार हुने

जनकपुर । मधेस प्रदेशमा सरकार गठन भएको आज १७ दिन बितिसक्दा पनि मन्त्रीपरिषदले अझै पूर्णता पाउन सकेको छैन।

६ दलको समर्थनमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा मंसिर १९ गते सरकार गठन भएको भए पनि बाँकी मन्त्री नियुक्ति प्रक्रिया अल्झिएको छ।

सरकार गठनको प्रारम्भिक चरणमा नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरिएको थियो।

त्यसपछि सत्तारुढ गठबन्धनका बाँकी दलबाट पनि एक–एक जना मन्त्री थपिए तापनि अझै सबै मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन्।

स्रोतका अनुसार सत्तारुढ दलहरूबीच मन्त्रालय भागबन्डा लगभग टुंगो लागिसकेको छ।

तर सहमति भइसकेपछि पनि मन्त्रीपरिषद विस्तारमा ढिलाइ हुनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

आन्तरिक समन्वय र समय व्यवस्थापनका कारण विस्तार प्रक्रिया रोकिएको बताइएको छ।

यसैबीच, मुख्यमन्त्री कृष्णा यादव आज काठमाडौं जाने कार्यक्रम रहेको छ।

सरकार स्रोतका अनुसार उनी काठमाडौं भ्रमणबाट फर्किएपछि मात्रै बाँकी मन्त्रीहरूको शपथ गराएर मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ।

छ दलको समर्थनमा बनेको यादव नेतृत्वको सरकारप्रति सुरुदेखि नै स्थायित्व र प्रभावकारी शासनको अपेक्षा गरिएको भए पनि मन्त्रीपरिषद विस्तारमा भएको ढिलाइले सरकारको गति र प्राथमिकतामाथि प्रश्न उठ्न थालेको छ।

अब मुख्यमन्त्रीको काठमाडौं भ्रमणपछि मन्त्रीपरिषद विस्तारले पूर्णता पाउने स्रोतले जनायो ।

मंगलबारसम्म मन्त्रीपरिषद विस्तार गरिने सरकारको तयारी रहेको जसपा नेपालका एक नेताले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै