जनकपुर । मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ ।
लामो समयदेखि रिक्त रहेको सभामुख पद पूर्ति गर्न आज दिउँसो १ बजेदेखि प्रदेश सभा भवनमा मतदान हुने कार्यसूची रहेको छ।
सभामुख पदका लागि दुई जना उम्मेदवार मैदानमा छन्।
सत्तारुढ ६ दलीय गठबन्धनको तर्फबाट रामअशिष यादव र प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट त्रिलोकी यादवले उम्मेदवारी दिएका हुन्।
प्रदेश सभा सचिवालयका अनुसार निर्धारित समयअनुसार सदनको बैठक सुरु भएपछि सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।
मतदान प्रक्रिया गोप्य हुनेछ र प्रदेश सभा सदस्यहरूले मताधिकार प्रयोग गर्नेछन्।
छ दलीय गठबन्धनले साझा उम्मेदवारका रूपमा अघि सारेका रामआशिष यादव अनुभवी नेता मानिन्छन्।
गठबन्धनले प्रदेश सभामा स्थायित्व, सहकार्य र निष्पक्ष संसदीय अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित उनलाई सभामुखको उम्मेदवार बनाएको बताएको छ।
यता नेकपा एमालेले आफ्नो दलको तर्फबाट त्रिलोकी यादवलाई उम्मेदवार बनाउँदै लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यासलाई जोड दिएको छ।
एमालेले सभामुख पदलाई सन्तुलित र निष्पक्ष रूपमा सञ्चालन गर्न सक्ने व्यक्तिको आवश्यकता रहेको दाबी गरेको छ।
आजको निर्वाचनपछि मधेस प्रदेश सभाले पूर्णता पाउने अपेक्षा गरिएको छ। सभामुख चयन भएसँगै प्रदेश सभाको नियमित विधायी कार्य, छलफल र निर्णय प्रक्रिया थप सक्रिय हुने विश्वास लिइएको छ ।