ट्रेन्डिङ

मधेस सभामुख पदका लागि रामआशिष यादवको उम्मेदवारी दर्ता, प्रस्तावक कांग्रेस र समर्थक माओवादी

जनकपुर । मधेस प्रदेश सभाको रिक्त सभामुख पदका लागि सात दलीय गठबन्धनका साझा उम्मेदवार रामआशिष यादवले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार दिउँसो करिब १ बजे यादवले प्रदेशसभा सचिवालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन् ।

उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले सर्वसम्मत रूपमा यादवलाई सभामुख पदका लागि साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गठबन्धनका नेताहरूका अनुसार सभामुख पद संसद्को मर्यादा, निष्पक्षता र समन्वयको केन्द्र भएकाले संसदीय प्रक्रिया राम्रोसँग बुझेको, सबै दलसँग सहकार्य गर्न सक्ने र अनुभवी व्यक्तिलाई उम्मेदवार बनाइएको हो ।

प्रदेशसभामा स्थायित्व कायम गर्दै संसदीय अभ्यासलाई प्रभावकारी बनाउने लक्ष्यसहित यादवलाई अघि सारिएको नेताहरूले बताएका छन् ।

यसअघि सभामुख रहेका रामचन्द्र मण्डल पदमुक्त भएपछि पद रिक्त रहँदा प्रदेश सभाको नियमित कामकारबाही प्रभावित हुँदै आएको थियो ।

नयाँ सभामुख चयनसँगै सभाको कार्यसूची नियमित हुने र विधायिकी प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै