जनकपुर । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो उम्मेदवार टुंगो लगाएको छ ।
जसपा नेपालले प्रदेश सभामुखको उम्मेदवारका रूपमा रामआशिष यादवको नाम आधिकारिक रूपमा चयन गरेको हो ।
जसपा संसदीय दलका नेता सरोज यादवका अनुसार रामआशिष यादवको नाम चयन भइसकेको छ, अब १ बजे नोमिनेशन भरिन्छ ।
पार्टीभित्रको आन्तरिक लडाइँका कारण अन्तिम समयमा नाम सार्वजनिक गरिएको जसपा नेपालको उच्च स्रोतले जानकारी दिएको हो।
सत्तारुढ ६ दलीय गठबन्धनबीच भएको आन्तरिक सहमतिअनुसार सभामुख पद जसपा नेपालको भागमा परेको थियो ।
सोही सहमतिअनुसार पार्टीले रामआशिष यादवलाई सभामुख पदको उम्मेदवार बनाएको हो ।
गठबन्धनभित्र शक्ति सन्तुलन मिलाउन मुख्यमन्त्री, मन्त्री र सभामुख पदमा भागबन्डा गरिएको नेताहरूले बताएका छन् ।
६ दलीय गठबन्धनमा नेपाली कांग्रेसले मुख्यमन्त्री पद पाएको छ ।
कांग्रेसका तर्फबाट कृष्णा यादवको नेतृत्वमा सरकार गठन भइसकेको छ ।
उक्त सरकारलाई जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।
सत्तारुढ दलहरूको सहमतिका आधारमा सभामुख पद जसपा नेपाललाई प्राप्त भएपछि पार्टीभित्रको छलफलपछि रामआशिष यादवको नाम टुंगो लगाइएको हो ।
अब सभामुख निर्वाचन प्रक्रियाअनुसार यादवले औपचारिक उम्मेदवारी दर्ता गर्ने र गठबन्धनका दलहरूको समर्थनमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ ।
सभामुख चयनसँगै मधेश प्रदेश सभामा नेतृत्व संरचना पूर्ण हुने र संसदीय कामकारबाही थप सहज हुने जनाइएको छ ।