जनकपुर। मधेस प्रदेश सभाको रिक्त सभामुख पदको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ।
प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम सभामुख निर्वाचनको कार्यक्रम तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सूचनाअनुसार सभामुख पदको निर्वाचन आगामी पुस ६ गते आइतबार बिहान १ बजे हुने प्रदेश सभा बैठकमार्फत सम्पन्न गरिनेछ।
निर्वाचन कार्यक्रम माननीय उपसभामुखको अध्यक्षतामा सञ्चालन हुनेछ।
सार्वजनिक कार्यतालिका अनुसार पुस ५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभामा रहेका माननीय सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव तथा समर्थनको सूचना दिने व्यवस्था गरिएको छ।
सोही दिन दिउँसो ३ः३० बजे दर्ता भएका उम्मेदवारीको विवरण दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ।
त्यसपछि पुस ६ गते बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तावमाथि छलफल गरी उम्मेदवारको समर्थन र निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रम रहेको छ।
निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम मधेस प्रदेश सभा सचिवालयमै सञ्चालन हुनेछ।
