ट्रेन्डिङ

वीरगन्जबाट पौने पाँच करोडको सुपारीसहित दुइ जना पक्राउ

१८ सय बोरा सुपारीसहित दुई कन्टेनर नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जमा ठूलो परिमाणको सुपारी बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रमुख (एसपी) सुदिपराज पाठक स्वयंको कमाण्डमा खटिएको टोलीले चार करोड सतहत्तर लाख ४० हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा आज गरिएको छापामारीका क्रममा १८ सय बोरा सुपारी लोड तथा अनलोड भइरहेको अवस्थामा दुई वटा कन्टेनर ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख एसपी पाठकले जानकारी दिए।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–२ बाइपास रोडमा रहेको निशान्त सोनावर्तको दाल प्याकिङ गोदाममा सुपारी अनलोड भइरहेको सूचना पाएलगत्तै एसपी पाठकको नेतृत्वमा प्रहरी टोली फिल्डमा खटिएको थियो।

छापामारीका क्रममा सुपारी अनलोड भइरहेको अवस्थामा ना ७ ख ७४२० नम्बरको ट्रेलर ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै सुपारी अनलोड गर्नका लागि रोकिराखिएको ना ४ ख ६८३२ नम्बरको १४ चक्के ट्रेलर ट्रक पनि शंकास्पद अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको छ।

घटनास्थलबाट प्रहरीले ट्रेलर तथा ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२० निवासी राम भरोस महरा र सोही उपमहानगरपालिका–१९ निवासी रामप्रसाद यादव रहेका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमा १८ सय बोरा सुपारी लोड गरिएको थियो, जसको अनुमानित मूल्य करिब चार करोड सतहत्तर लाख ४० हजार रुपैयाँ रहेको जनाइएको छ।

बरामद सुपारी, सवारीसाधन तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

एसपी स्वयं फिल्डमा उत्रिएर गरिएको यस अपरेशनलाई पर्सा प्रहरीले अवैध कारोबार नियन्त्रणतर्फको महत्वपूर्ण उपलब्धि को रूपमा लिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै