काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानपछि मतगणना सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार हाल विद्युतीय मतदान मेसिनबाट चिप्स निकाल्ने कार्य तीव्र रूपमा भइरहेको छ।
आयोगले जानकारी दिएअनुसार कुल ८० वटा विद्युतीय मेसिनमध्ये ७० वटाबाट चिप्स निकालिसकिएको छ भने बाँकी १० वटाको प्रक्रिया जारी छ।
सबै मेसिनबाट चिप्स निकालिएलगत्तै औपचारिक रूपमा मतगणना सुरु गरिने जनाएको छ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार, आज करिब ११ बजेतिर सबै पदको नतिजा एकैसाथ सार्वजनिक गर्ने तयारी गरिएको छ।
मतगणनाअघि सेन्टर कलेक्सन सम्पन्न गरी सर्वपक्षीय बैठक बसेपछि मात्रै नतिजा घोषणा गरिनेछ।
बिहीबार बिहान सम्पन्न मतदानमा कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए भने ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित रहे।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा रहेको छ।
यस्तै, महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन्।
अन्य पदाधिकारी पदहरूमा पनि दुवै पक्षबाट प्यानलसहित उम्मेदवारी परेको छ।
निर्वाचन आयोगका अनुसार, विद्युतीय मेसिनलाई अलग–अलग कोड नम्बरका आधारमा लक गरी चिप्स सिल गरिएको छ, जसले मतको गोपनीयता र पारदर्शिता सुनिश्चित गर्ने जनाएको छ।