वीरगन्ज । जनमत पार्टी पर्साले प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रारम्भिक उम्मेदवार टुंगो लगाएको छ ।
मंसिर २९ गते सम्पन्न चारै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय बैठकबाट उम्मेदवारको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो ।
क्षेत्रीय बैठकले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारको प्रारम्भिक नाम सिफारिस गरेको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले जानकारी दिए ।
उनका अनुसार चारै क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाइएको छ, जसमा पर्सा क्षेत्र नम्बर- २ बाट जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतको नाम सिफारिस गरिएको छ ।
सिफारिसअनुसार पर्सा क्षेत्र नम्बर- १ बाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फ र केन्द्रीय सदस्य श्यामप्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ ।
पर्सा क्षेत्र नम्बर- २ बाट पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतसहित पूर्व एसएसपी तथा केन्द्रीय सदस्य अनुराग द्विवेदी, केन्द्रीय सदस्य तथा अधिवक्ता हरिहरप्रसाद साह र राष्ट्रिय परिषद् सदस्य बृजकिशोर प्रसाद कलवारको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी पर्सा क्षेत्र नम्बर -३ बाट केन्द्रीय सदस्य मालती कुमारी कुशवाहा र पर्सा क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य सिमा देवी कलवार (सिमा गुप्ता) को नाम सिफारिस गरिएको छ ।
पार्टीले क्षेत्रीय तहबाट सिफारिस गरिएका नामहरूलाई केन्द्रीय समितिमा पठाउने र अन्तिम निर्णय केन्द्रबाट हुने जनाएको छ ।
