ट्रेन्डिङ

फेसबुकमा स्टाट्स लेख्दै पूर्वमुख्यमन्त्री सिंहले भने- पेन्टरको गल्तीलाई राजनीतिक हतियार बनाइयो

जनकपुर । सामान्य प्राविधिक त्रुटिलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको भन्दै पूर्वमुख्यमन्त्री सतिस सिंहले आफूमाथि लगाइएका आरोपको कडा खण्डन गरेका छन्।

आन्दोलनको समयमा जलाइएका सवारीसाधनबाट जोगाउन अस्थायी रूपमा सरकारी गाडीको नम्बर रातो प्लेटमा लेख्ने क्रममा पेन्टरको त्रुटिले ‘झ’ को सट्टा ‘च’ लेखिनु मात्र भएको स्पष्ट पार्दै उनले यसलाई अन्यथा अर्थ लगाइनु गलत भएको बताएका हुन्।

पूर्वमुख्यमन्त्री सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको स्पष्टोक्तिमा मानव जीवनमा कहिलेकाहीँ नसोचेका घटना घट्ने र कुनै गल्ती नगर्दा पनि दोष थोपारिने अवस्था आउने उल्लेख गरेका छन्।

उनका अनुसार आन्दोलनका क्रममा प्रदेशका करिब ४०–५० वटा सवारीसाधन जलाइएपछि सुरक्षाका कारण केही दिनका लागि सरकारी गाडी नम्बर ज १ झ ४७० लाई रातो प्लेटमा राख्ने निर्णय गरिएको थियो।

त्यही क्रममा पेन्टरले रातो प्लेटमा ‘झ’ हुँदैन भन्ने बुझाइका कारण ‘ज १ च ४७०’ लेखिदिएको र उक्त सानो प्राविधिक गल्ती तत्काल थाहा हुन नसकेको सिंहको भनाइ छ।

पछि मात्रै वास्तविकता खुलेको भए पनि यही विषयलाई लिएर विभिन्न किसिमका भाष्य निर्माण गरिएकोप्रति उनले आपत्ति जनाएका छन्।

सिंहले पेन्टरको सामान्य गल्तीलाई आधार बनाएर आफूविरुद्ध आरोप लगाइनु अनुचित भएको जनाउँदै यस्तो घटनालाई लिएर राजनीतिक पूर्वाग्रहका साथ टिप्पणी गर्नु नहुने बताएका छन्।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै