काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदैछ।
शनिबार भक्तपुरको सल्लाघारीमा औपचारिक उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आयोजना गरिनेछ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बन्दसत्रका कार्यक्रम आज मध्याह्न सवा १२ बजेपछि सुरु हुनेछन्।
बन्दसत्र सुरु हुनुअघि बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ।
यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी भए पनि केन्द्रीय कमिटी बैठक राखिएकाले कार्यक्रमको समय सारिएको हो।
केन्द्रीय कमिटी बैठकमा बन्दसत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिने जनाइएको छ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै एमालेले सोमबार महाधिवेशन समापन गर्ने तयारी गरेको छ।
यसपटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गरेका छन्।