वीरगन्ज । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टी नेतृत्व चयनका सम्बन्धमा पार्टीभित्र बहस चर्किँदै गएको छ।
विभिन्न समूह र अभियानले नेतृत्वका लागि छुट्टाछुट्टै नाम अघि सारेका बेला बारा कांग्रेस नेता शोभाकर पराजुलीले सभापतिका लागि वरिष्ठ नेता डा. शेखर कोइराला नै सबैभन्दा उपयुक्त व्यक्तित्व भएको धारणा सार्वजनिक गरेका छन ।
उनका अनुसार कांग्रेसभित्र हाल नेतृत्वका लागि दुई प्रमुख धार देखिएका छन् । एक पक्षले महामन्त्री गगन थापालाई अघि सारिरहेको छ भने अर्को पक्षले डा. शेखर कोइरालालाई बलियो विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ।
शुक्रबार बिहान वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पराजुलीले भने, “पार्टीको वर्तमान अवस्था, चुनौती र आवश्यकताका दृष्टिले डा. शेखर कोइराला नै योग्य, सक्षम र व्यावहारिक विकल्प हुन्। कांग्रेसलाई अब अनुभवी तर आधुनिक सोच राख्ने नेतृत्व चाहिन्छ, जुन गुण उहाँमा स्पष्ट देखिन्छ।”
उपविजेता भए पनि भागबन्डामा नलाग्नु कोइरालाको ठूलो विशेषता
पराजुलीका अनुसार १४औँ महाधिवेशन सकिएलगत्तै डा. कोइराला सक्रिय राजनीतिक यात्रामा उत्रिए।
देशभरका कार्यकर्ता, नेता र संरचनासँग निरन्तर संवाद गर्दै पार्टीभित्र सुदृढीकरणमा सक्रिय भूमिका खेले।
“उहाँ सभापति प्रत्यासी भएर उपविजेता बन्नुभयो, तर त्यसपछि पनि ६०/४० को भागबन्डा राजनीतिमा फसिनु भएन। पार्टीलाई जोड्ने काममा केन्द्रित हुनुभयो,” पराजुलीले भने, “यही निष्पक्षता र संगठनप्रतिको समर्पण उहाँलाई अझै विशेष बनाउँछ।”
१५औँ महाधिवेशनका सबै सम्भावित उम्मेदवारमध्ये कोइराला नै बलिया
पराजुलीका अनुसार विचार,भिजन, अनुभव र संगठन सम्हाल्ने क्षमताको आधारमा हेर्दा कोइराला अहिले सबैभन्दा बलियो विकल्प हुन्।
“देशभित्र र विदेशमा समेत उहाँको राम्रो सम्बन्ध, प्रतिष्ठा र प्रभाव छ। कांग्रेसलाई संस्थागत शक्ति दिन सक्ने क्षमता उहाँमा छ,” पराजुलीले जोड दिए।
उनका अनुसार युवाहरूसँग कोइरालाको सहकार्य, संवाद र सहजता पनि अन्य नेताभन्दा अग्रस्थानमा छ।
“पार्टीले नयाँ पुस्तासँग नजिकिन अब सक्षम नेतृत्व चाहिन्छ, कोइराला त्यसमा अगाडि छन्,” उनले थपे।
महामन्त्री गगन थापाप्रति पराजुलीको आलोचना
कुराकानीका क्रममा पराजुलीले महामन्त्री गगन थापाको कार्यक्षमतामाथि प्रश्न उठाए। “गगन थापा परीक्षण भइसकेका नेता हुन्। महामन्त्री हुँदा पार्टीका लागि अपेक्षित काम गर्न नसकेको तथ्य सबैले देखेकै कुरा हो,” उनको टिप्पणी थियो।
उनका अनुसार अहिलेको संवेदनशील अवस्थामा कांग्रेसको नेतृत्व ‘अनुभवहीन र अस्थायी प्रभाव’ भन्दा ‘स्थिर र परिणाममुखी व्यक्तित्व’ को हातमा जानुपर्छ।
कांग्रेसलाई एकता, स्थायित्व र स्पष्ट दिशा चाहिएको छ
पराजुलीले कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको असन्तुलन, आन्तरिक विवाद र संगठनात्मक अस्पष्टताले पार्टी कमजोर हुँदै गएको उल्लेख गर्दै भने, “यस्तो बेला पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने नेतृत्व आवश्यक छ। त्यो क्षमता डा. शेखर कोइरालामा छ।”
उनका अनुसार वैचारिक स्पष्टता, संगठनात्मक दृष्टि र सबैलाई संगठित रूपमा अघि बढाउने क्षमता भएकाले सभापतिको जिम्मेवारी कोइरालाकै हातमा दिनु आजको आवश्यकता हो।