ट्रेन्डिङ

जसपाले केन्द्रीय सदस्यहरूलाई चुनाव तयारीमा उत्रायो मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाएको छ।

पार्टीले आफ्ना सबै केन्द्रीय सदस्यहरूलाई देशभरका निर्वाचन क्षेत्रमा खटाएर प्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न निर्देशन दिएको हो।

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागका अनुसार खटाइएका केन्द्रीय सदस्यहरूले संबधित क्षेत्रका समन्वय समिति, बूथ समिति तथा बाँकी रहेका प्रदेशदेखि टोलसम्मका संरचना छिटो गठन गरी सक्रिय सञ्चालनमा ल्याउने जिम्मेवारी पाएका छन्।

आगामी चुनावका लागि आवश्यक प्रचारप्रसार योजना, मतदाता सचेतना अभियान, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षण कार्यक्रमहरू योजनाबद्ध रूपमा अघि बढाइनेछ।

प्रत्येक क्षेत्रमा आधारित कार्ययोजना समयमै कार्यान्वयन गर्न केन्द्रीय नेताहरूले प्रत्यक्ष जिम्मेवारी वहन गर्ने जनाइएको छ।

निर्वाचन क्षेत्रमा पठाइएका नेताहरूलाई स्थानीय मतदाता तथ्याङ्क, संगठनको वर्तमान स्थिति र प्रतिस्पर्धी दलहरूको प्रभावसमेत समेटिएको नियमित प्रतिवेदन केन्द्रीय कार्यालयमा पेस गर्न भनिएको छ।

त्यस्तै, जसपाका उम्मेदवारलाई बलियो सम्भावना रहेको क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष रणनीति, शक्ति परिचालन र तथ्याङ्क आधारित अभियान सञ्चालन गर्न पार्टीले निर्देशन दिएको छ।

पार्टीको प्रचार प्रसार विभागको भनाइअनुसार, “यो प्रक्रिया पूर्ण रूपमा परिणाममुखी बनाउने उद्देश्यका साथ सुरु गरिएको हो, ताकि आगामी निर्वाचनमा पार्टीले अधिकतम प्रभाव देखाउन सकोस्।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै