ट्रेन्डिङ

समानुपातिकका लागि १०० दलको आवेदन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।

आयोगले तोकेको समयसीमा भित्र विभिन्न दलहरूले दल–दर्ताका लागि निवेदन पेश गरेका हुन्।

आयोगले मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको थियो।

सो अवधिमा संयुक्त र एकल चुनाव चिन्ह राखेका गरी जम्मा एक सय दलले आवेदन दिएका आयोगका अधिकारीहरूले जानकारी दिए।

पेश भएका आवेदनहरूमा आवश्यक छानबिन र अध्ययन सम्पन्न गरी मंसिर २६ गतेसम्म स्वीकृति दिने आयोगको कार्यतालिका छ।

दल दर्ता स्वीकृत भइसकेपछि आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेस गर्नुपर्नेछ।

सम्बन्धित सूचीहरूको अध्ययन विश्लेषणपछि आयोगले माघ ४ गते प्रारम्भिक सूची सार्वजनिक गर्नेछ। दाबी विरोध तथा आवश्यक अनुसन्धान पूरा गरी माघ २० गते अन्तिम सूची प्रकाशित गरिने कार्यसूचीमा उल्लेख छ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ।

आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीमा भएको यो व्यापक सहभागिता दलहरूको सक्रियताका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै