जनकपुर । मधेस प्रदेशमा नवगठित सरकारले विश्वासको मत कहिले लिने भन्ने विषय अझै स्पष्ट भएको छैन।
मुख्यमन्त्री कृष्णा यादवले गठबन्धन दलहरूबीच छलफल नटुंगिएका कारण विश्वासको मतको मिति घोषणा हुन नसकेको जानकारी दिएका छन्।
उनका अनुसार संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकाले सो अवधि भित्रै मत लिइने छ।
“कुनै हतारो छैन, सत्तारुढ दलबीच छलफल गरेरै मिति टुंगो लाग्छ,” मुख्यमन्त्री यादवले बताएका छन्।
गत शुक्रबार शपथग्रहण गरेका मुख्यमन्त्री यादवले सानो आकारमा मन्त्रिमण्डल विस्तार गर्दै सरकार सञ्चालन सुरु गरिसकेका छन्।
मधेसमा ६ दलको समर्थनसहित नेपाली कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन भएको हो।
सरकारले अब विश्वासको मतका लागि आवश्यक राजनीतिक छलफल तीव्र पारेको जनाइको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री यादव नेतृत्वको सरकारले यही साता विश्वासको मत लिने आन्तरिक तयारी गरेको छ ।