काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टिम विगत केही दिनदेखि प्रतिनिधि विवरण जाँचमा व्यस्त छ।
संगठन विभागका अनुसार हालसम्म करिब ७० प्रतिशत प्रतिनिधिको भेरिफिकेसन सकिएको छ।
कुल २ हजार १ सय ५४ जना प्रतिनिधि मतदानमार्फत आउनेछन् भने १ सय ८ जना केन्द्रबाट मनोनित हुनेछन्।
यससँगै महाधिवेशनमा सहभागि प्रतिनिधिको संख्या २ हजार २ सय ६२ पुग्नेछ।
यसैबीच, तत्कालीन नेकपा (एस)को ‘घरफर्क अभियान’बाट फर्किएका तीन जनाले प्रतिनिधि बन्ने आशयसहित पेश गरेको निवेदनको टुंगो पार्टी सचिवालयले लगाउने भएको छ।
अधिकारीका अनुसार प्रतिनिधि छनोट प्रक्रियामा देखा परेका विवाद पनि क्रमशः समाधान भइरहेको छ।
धनकुटा र ओखलढुंगामा अन्तरपार्टी निर्देशन १३ विपरीत भएको प्रतिनिधि चयन केन्द्रले रद्द गरी पुनः मापदण्डअनुसार सर्वसम्मत प्रतिनिधि चयन गरिसकेको छ।
तीन जिल्लामा परेको उजुरी भने अझै अध्ययन–निर्णय प्रक्रियामा रहेको विभागले जनाएको छ।
केही निर्वाचित प्रतिनिधिमाथि पनि मापदण्ड नपुगेको उजुरी आएको भन्दै अधिकारीले भने, “मापदण्ड पूरा नगरेका कसैलाई पनि कार्ड जारी गरिँदैन।”
महाधिवेशनमा सल्लाहकार परिषद्का ३५१ जना सदस्य पनि सहभागी हुनेछन्। परिषद्मा ३७६ सदस्य भए पनि २५ जना प्रतिनिधि भएर प्रवेश गर्नेछन्।
प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा कुल २ हजार ६ सय १३ जना उपस्थित हुनेछन्।
प्रतिनिधि परिचयपत्र छपाइ पनि तीव्र गतिमा भइरहेको छ।
केन्द्रीय कार्यालयका अनुसार आवश्यक कार्डमध्ये ७० प्रतिशत छपाइ सम्पन्न भइसकेको छ र बाँकी काम मंसिर २५ गतेभित्र सकिने लक्ष्य राखिएको छ।