ट्रेन्डिङ

प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

आयोग परिसरमै सोमबार उद्घाटन गरिएको उक्त कार्यालयसँगै समानुपातिक व्यवस्थापनका तयारी औपचारिक रूपमा थालिएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालय उद्घाटन गरेका हुन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगले मंसिर १२ गते गरेको निर्णयअनुसार सचिव महादेव पन्थलाई समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएको छ भने सहसचिव यज्ञप्रसाद भट्टराई सहायक निर्वाचन अधिकृत रहनेछन्।

समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने आयोगले जनाएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीमार्फत चुनिने व्यवस्था छ।

उद्घाटन कार्यक्रममा आयुक्त भण्डारीले समानुपातिक प्रणालीका सबै प्रक्रिया यही कार्यालयमार्फत सम्पन्न हुने भएकाले सरोकारवालालाई सहज हुने बताए।

उनले कानुनअनुसार जातीय, भौगोलिक र लैङ्गिक आधारमा समूह छुट्याएर प्रतिनिधि छनोट गर्ने प्रक्रियामा राष्ट्रिय तथ्याङ्क कार्यालयको समेत सहयोग रहने उल्लेख गर्दै निष्पक्षता र पारदर्शितामा आयोग प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै