ट्रेन्डिङ

पर्साबाट एक युवकलाई भारतीय प्रहरीले ‘अपहरण शैलीमा’ लगेपछि परिवार आक्रान्त, पर्सा प्रहरी बेखबर

वीरगन्ज। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगन्जस्थित राधेमाइ टोलबाट समन्वयबिनै नियन्त्रणमा लिएर भारततर्फ लगेको खुलासा भएको छ।

स्थानीय प्रशासनलाई जानकारी नदिई यसरी सीमा पारि लैजानु ‘अपहरण शैली’ को कार्य भएको परिवार र स्थानीयहरूले आरोप लगाएका छन्।

स्रोतका अनुसार भारतीय नम्बरको थार गाडीमा आएका तीन जना सादा पोशाकका भारतीय प्रहरी खजुरिया गाउँ हुँदै मनवा बजारतर्फ साहको खोजतलासमा पुगेका थिए।

पछि उनीहरू वीरगन्ज महानगरपालिका–१३ राधेमाइ टोलस्थित साहको निवासमै पुगेका थिए।

त्यहीँबाट साहलाई नियन्त्रणमा लिएर भारततर्फ लगिएको परिवारजनले बताएका छन्।

यसअघि भारतमा ५० किलोभन्दा बढी चरेशसहित एक व्यक्ति पक्राउ परेका थिए।

सो व्यक्तिको बयानका आधारमा मेघराज साहको नाम जोडिएपछि भारतीय प्रहरीले उनलाई खोजी गरिरहेको बताइएको छ।

तर पर्सा प्रहरी भने यो घटनाबारे पूर्ण रूपमा बेखबर छ।

प्रहरीसँग कुनै समन्वय वा सूचना परामर्श नगरी नेपाली नागरिकलाई यसरी लैजानु ‘नियमविरुद्ध र गम्भीर विषय’ रहेको प्रहरी स्रोतले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले घटनाबारे जानकारी प्राप्त भएपछि बुझ्ने काम भइरहेको बताए।

उनका अनुसार, “हामी घटनाको तथ्य परक विवरण संकलन गर्दैछौँ। प्रहरीसँग समन्वयबिनै नागरिक लगिएको हो कि भन्नेबारे जाँचबुझ जारी छ।”

घटनाले सीमा क्षेत्रको सुरक्षा प्रणाली र द्विपक्षीय समन्वय प्रक्रियामै प्रश्न उठेको चर्चा स्थानीयस्तरमा भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै