जनकपुर । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा ४ को (ख )बमोजिम महतोलाई पदमुक्त गरेको कार्यालयले जनाएको छ।
गत शुक्रबार ६ दलका ७७ सांसदको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको सपथ लिएसँगै मुख्य न्यायाधिवक्तालाई हटाउन सिफारिस गरेका थिए।
मुख्यमन्त्रीको सिफारिस प्राप्त भएपछि प्रदेश प्रमुखले महतोको पदावधि अन्त्य गरेका हुन्।
महतो जनमत पार्टी नेतृत्वको सतिशकुमार सिंह सरकारमा जनमत पार्टीको कोटाबाट मुख्य न्यायाधिवक्ता बनेका थिए।
मधेसमा सरकार गठनको विवाद सर्वोच्च अदालतमा पुगेपछि, महतोले प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति सम्बन्धी मुद्दामा बहससमेत गरेका थिए।
नयाँ सरकार गठनसँगै मुख्य न्यायाधिवक्ताको पदसमेत रिक्त बनेको छ।
