जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले बुधबार विश्वासको मत लिने तयारी गरेको जनाइएको छ ।
६ दलीय सत्तापक्षीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेपछि मुख्यमन्त्री यादवले यही मङ्सिर २४ गते प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।
गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगो नलागेकाले तीन दलले अहिलेसम्म सरकारमा प्रतिनिधित्व गराएका छैनन्।
यसकारण मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको तीन दिनमै विश्वासको मत लिने निर्णय गर्नु परेको हो।
मन्त्रालयको बाँडफाँडमा सहमति भएपछि मात्रै बाँकी दलहरूले सरकारमा सहभागी हुने अडान कसेका छन ।
मूलत: यहीकारणले चाँडै यादव सरकारले विश्वासको मत लिन लागेको जनाइएको छ ।
आइतबार प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
मुख्यमन्त्री यादवले शपथ ग्रहणपछि सरकारको स्थायित्व र कार्यसम्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।