जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले आज शपथग्रहण गरेका छन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
कांग्रेस नेतृत्वमा बनेको नयाँ गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई प्रदेश प्रमुख लाभले प्रदेश प्रमुखको कार्यालय परिसरमै आयोजित विशेष समारोहमा शपथ खुवाएका छन्।
शपथग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य, विभिन्न दलका नेता, सुरक्षा निकायका पदाधिकारी र सरोकारवालाको उपस्थिति रहेको थियो।
यादवलाई हालै गठबन्धनका बहुमत सांसदहरूले समर्थन पत्र बुझाएपछि संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
शपथग्रहणपछि अब यादवले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाउने बताइएको छ।