सप्तरी । सप्तरीको कंचनरूप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
कंचनरूप–५, पिप्रा पूर्वका ६५ वर्षीय नारायण खङको हात्तीको हमलामा ज्यान गएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी माधव प्रसाद काफ्लेले पुष्टि गरे।
डीएसपी काफ्लेका अनुसार खङ घरबाट करिब दुई किलोमिटर टाढा रहेको आफ्नै खेतमा सुकाइराखिएको धान जोगाउन पुगेका थिए।
चोरी–चकारी रोक्न उनी खेतमै बस्ने गरेका थिए।
यही क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षतर्फबाट आएको जंगली हात्तीले रातिको समयमा सुतिरहेको अवस्थामा उनीमाथि आक्रमण गरी कुल्चिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका खङलाई छिमेकीले उद्धारका लागि प्रयास गरे पनि उनलाई जोगाउन नसकिएको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ।