वीरगन्ज । चालु आर्थिक वर्षका पहिलो चार महिनामा वीरगन्ज नाका हुँदै कुल रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्य सामग्री आयात भएको छ।
यो परिमाण गत आर्थिक वर्षको सोही अवधिभन्दा रु एक अर्ब २४ करोडले बढी रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार सबैभन्दा धेरै मकै आयात भएको छ।
चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै आयात हुँदै यसको मूल्य रु दुई अर्ब २९ करोड रहेको छ।
यस्तै पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात हुँदा यसको मूल्य रु दुई अर्ब एक करोड पुगेको छ।
त्यसैगरी, एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ, जसको मूल्य रु एक अर्ब छ करोड छ।
खाद्य सामग्रीको आयात परिमाण तथा मूल्य दुबै बढ्दै गएको भन्सार अधिकारीहरूले बताएका छन्।