काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालत आजै निर्णय सुनाउने सम्भावना देखिएको छ।
यस प्रकरणमा विगत केही दिनदेखि लगातार बहस जारी छ। बिहीबार सुरू भएको बहस शुक्रबार पनि चल्यो भने आज (सोमबार) विपक्षी पक्षका कानुन व्यवसायीहरूले बाँकी बहस सकाएपछि रिटकर्तातर्फको जवाफी बहस हुने र त्यसपछि इजलासले फैसला सुनाउन सक्ने अनुमान गरिएको छ।
यादवको नियुक्ति र प्रदेश सरकार गठनविरुद्ध परेको तीनवटै रिटको संयुक्तरूपमा सुनुवाइ भइरहेको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबारदेखि तीनवटै रिट एकैपटक सुनुवाइमा लिएको हो।
संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतले नेकपा एमालेका सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कातिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
भोलिपल्ट बिहान बर्दिवासस्थित एक होटलमा सपथ ग्रहण गराएपछि उनीविरुद्ध तीनवटा रिट दायर भएका थिए।
रक्कीप्रसाद साह, सुजित यादव र अर्जुन साहले छुट्टाछुट्टै रिट दायर गर्दै यादवको नियुक्तिलाई असंवैधानिक दाबी गरेका थिए।
आजको बहस सकिएसँगै सर्वोच्च अदालतले महत्वपूर्ण भनेर हेरिएको यो मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ।