वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वीरगन्ज नाका हुँदै निर्यातमा उल्लेख्य वृद्धि भएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रारम्भिक तथ्यांकअनुसार यस अवधिमा करिब रु ३३ अर्ब २१ करोड बराबरका विभिन्न सामग्री निर्यात भएका छन्।
गत आर्थिक वर्षको सोहि अवधिमा मात्र करिब रु १३ अर्ब ६४ करोडको निर्यात भएको थियो।
यस वर्ष निर्यात मूल्य करिब दोब्बरभन्दा बढी वृद्धि भएको भन्सार अधिकारीहरूले बताएका छन्।
भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार प्रमुख निर्यातीत वस्तुमा भटमासको तेल अग्रस्थानमा रह्यो।
पहिलो चार महिनामा मात्रै करिब रु १७ अर्ब ३२ करोड बराबरको भटमास तेल विदेश पठाइएको छ।
त्यसैगरी फलफूलजन्य जुसको निर्यात पनि उल्लेख्य रह्यो, जसको मूल्य करिब रु दुई अर्ब ६० करोड पुगेको कार्यालयले जनाएको छ।
निर्यात वृद्धिलाई उद्योगहरूमा बढ्दो उत्पादन, भारतीय बजारमा रहेको माग र भन्सार प्रक्रियाको सहजताले पनि सहयोग पुर्याएको उद्योगीहरूले बताइरहेका छन्।