वीरगन्ज । पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
विन्दवासिनी गाउँपालिका–५ बटसौरामा संचालन गरिएको विशेष खोज तथा निगरानी अभियानका क्रममा परालको कुन्यु भित्र लुकाइ राखिएको २१३ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले सुराकीका आधारमा उक्त गाँजा पक्राउ गरेको हो।
करिब २० पोका बनाएर सुरक्षित रूपमा लुकाइ राखिएको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।
लागुऔषध दुरुपयोगले समाजमा पार्ने दीर्घकालीन नकारात्मक असरलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले देशभर नै नियन्त्रण तथा नष्टिकरण अभियानलाई तीव्र बनाएको छ।
यही अभियानअन्तर्गत पर्सामा भएको यो बरामद महत्त्वपूर्ण सफलताका रूपमा रहेको सशस्त्र प्रहरी नं. १३ गणका प्रमुख एसपी पुरनचन्द्र भट्टले बताए ।