जनकपुर । ऐतिहासिक सीता–राम विवाहपञ्चमी महोत्सवको सातौँ तथा अन्तिम दिन जनकपुरधाममा आज ‘रामकलेवा’को विशेष अनुष्ठान हुँदैछ।
जन्तीका रूपमा आएका साधुसन्तलाइ ५६ प्रकारका मिष्ठान्न परिकारसहितको प्रसाद खुवाएर बिदाइ गर्ने प्रचलन छ ।
मंगलबार जनकपुरस्थित जानकी मन्दिरमा आयोजित राम–सीताको वैवाहिक कार्यक्रमपछि रातभर मन्दिर परिसरमा काज–कर्म, संस्कार तथा परम्परागत विधि निरन्तर चलिरह्यो।
आज भने प्रतिकात्मक रुपमा प्रस्तुत गरिएका बाल–राम, लक्ष्मण, भरत र शत्रुघ्नसहित साधुसन्तलाई दान–दक्षिणा एवं प्रसाद अर्पण गरेर महोत्सव विधिवत् रूपमा समापन गरिँदै छ।
मंसिर ४ गतेबाट सुरु भएको यस वर्षको सप्ताहव्यापी विवाहपञ्चमी कार्यक्रम प्रत्येक दिन छुट्टाछुट्टै धार्मिक सांस्कृतिक झाँकी र विधिले भरिएको थियो।
पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौँ दिन मटकोर तथा छैटौँ दिन ऐतिहासिक विवाहपञ्चमी महोत्सव भव्यरूपमा सम्पन्न गरिएको थियो।
त्रेतायुगमा मंसिर शुक्ल पक्षकी पञ्चमी तिथिमा भगवान राम र सीताबीच भएको दिव्य विवाहको स्मरणार्थ जनकपुरधाममा प्रत्येक वर्ष यो महोत्सव विशाल उत्साह, आस्था र सांस्कृतिक भव्यताका साथ मनाउने परम्परा रहिआएको छ।