सर्लाही । विवाह पञ्चमीको पावन अवसरमा सर्लाही सदरमुकाम मलंगवामा आज एक दिन मदिरा, माछामासु तथा पशुपन्छी वधमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।
मलंगवा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्र कुनै पनि प्रकारका मदिरा, माछामासु बिक्रीवितरण नगर्न आग्रह गरेको हो।
नगरपालिकाको प्रशासन शाखाका प्रमुख रामपुकार यादवद्वारा जारी सूचनामा धार्मिक मर्यादा र सामाजिक सद्भावलाई मध्यनजर गर्दै प्रतिबन्ध आजका लागि मात्र लागु रहने उल्लेख गरिएको छ।
विवाह पञ्चमीलाई भव्य र मर्यादित रूपमा मनाउन मलंगवाका स्थानीयवासीले जनकपुरधाममा जस्तै परम्परागत शैलीमा नगर परिक्रमा गर्दै राम–सीताको प्रतिकात्मक विवाह गराउने तयारी मिलाएका छन्।
नगरभर चहलपहल बढेसँगै प्रशासनले संवेदनशीलता कायम राख्न सबैलाई सहकार्यका लागि अनुरोध गरेको छ।