सर्लाही । बज्जिका भाषाका अग्रणी साहित्यकार तथा नेपालकै पहिलो बज्जिका उपन्यास प्रतिमा का लेखक विजय यादव ‘निर्विज’लाई ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान–२०८२’ प्रदान गरिएको छ।
सर्लाहीको मलंगवामा आयोजित समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले संयुक्त रूपमा सम्मान–पत्र प्रदान गरेका हुन्।
निर्विज अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका बहुआयामिक व्यक्तित्व हुन्।
२०७९ सालको मधानी महोत्सवमा नेपालका पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन गरेको उनको उपन्यास प्रतिमा बज्जिका साहित्यमा महत्वपूर्ण मानिन्छ।
उनी फतुवा–विजयपुर नगरपालिकामा मेयर पदका निकटतम प्रतिस्पर्धी रहिसकेका तथा हाल आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षको रूपमा राजनीतिक रूपमा सक्रिय छन्।
कार्यक्रममा नेपाल–भारतका अन्य साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
रौतहटका साहित्यकार संजय साह ‘मित्र’लाई ५० हजार रुपैयाँसहितको सम्मान प्रदान गरिएको कार्यक्रमका सचिव मुकेश मिश्रले जानकारी दिए।
समारोहमा साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रका दिग्गजहरूको उल्लेखनीय उपस्थिति रहेकाले कार्यक्रम सांस्कृतिक सद्भाव र भाषिक पहिचानको उत्सवझैँ बनेको आयोजकहरूले बताएका छन्।