जनकपुर। जनकपुरमा आजदेखि सुरु हुन लागेको सीताराम विवाह पञ्चमी महामहोत्सवले सम्पूर्ण शहरलाई रौनकले भरिएको छ।
नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा प्रारम्भ हुँदैछ, भने जानकी मन्दिर क्षेत्रदेखि रङ्गभूमि मैदान र बाह्रबिघासम्मको तयारी अहिले अन्तिम रूप दिइँदैछ।
मन्दिर व्यवस्थापनका अनुसार सरसफाइ, भव्य पण्डाल निर्माण, बत्ती झिलिमिली र मन्दिर–गल्लीहरूको सजावट तीव्र गतिमा भइरहेको छ।
मठमन्दिर, गल्ली–टोलदेखि मुख्य चोकसम्म ठाउँ–ठाउँमा विद्युत् बत्ती जडानले शहर उत्सवमय देखिएको छ।
तर, यस वर्ष महोत्सवमा कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले चिन्ता व्यक्त गरेका छन्।
विगतमा आर्थिक तथा व्यवस्थापकीय सहयोग पाउँदै आएको जानकी मन्दिर व्यवस्थापन यसपालि भने पूर्ण रूपमा आफ्नै स्रोतमा महोत्सव सञ्चालन गर्न बाध्य भएको छ।
यसबीच, अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका प्रमुख धार्मिक केन्द्रबाट ठूलो संख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणी जनकपुर आइपुग्न थालेका छन्।
नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सम्बन्ध मजबुत बनाउँदै आएको यो पर्व मिथिलाञ्चलको प्रतिष्ठासँग जोडिएको मानिन्छ।
आजबाट सुरु भएको महोत्सवपछि क्रमिक रूपमा हुने कार्यक्रममध्ये शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर–शुभ विवाह र १० गते रामकलेवा विधिसहित महोत्सव समापन हुनेछ।
मंसिर शुक्ल पञ्चमीको तिथिमा मनाइने यस पर्वमा नेपाल–भारतका विभिन्न स्थानबाट प्रत्येक वर्ष लाखौँ भक्तजन जनकपुरधाम आउने गरेका छन्।
यस वर्ष पनि भक्तजनको ठूलो भीड भर्न सक्ने अनुमान छ।