जनकपुर । मधेस प्रदेशका ७४ सांसदद्वारा मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुवै पक्षको बहस हुने जनाएको छ।
संविधानको धारा १६८(३) अनुसार गठन गरिएको सरकार वैधानिक नभएको दाबी गर्दै सांसदहरूले अन्तरिम आदेशको मागसहित गत मंगलबार रिट दर्ता गराएका थिए।
यसअघि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्नै गरी रोक आदेश जारी गरिसकेको छ।
यो आदेश रकी प्रसाद साहसहितद्वारा सोमबार दायर रिटमा जारी भएको हो।
रिटको संवेदनशीलता तथा सार्वजनिक महत्वका विषय उठेको भन्दै सर्वोच्चले कुनै पनि पक्षले पेसी स्थगित गर्न नपाउने व्यवस्था लागू भएको स्पष्ट पारेको छ।
सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ अनुसार अग्राधिकार दिँदै मंसिर ११ गते अन्तिम सुनुवाइका लागि मिति तोकिएको आदेशमा उल्लेख छ।