जनकपुर । करिब ४० मिनेटपछि प्रदेशसभा भवनभित्र थुनिएका सांसदहरूलाई बाहिर निकालिएको छ।
सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न गएका सांसदहरूलाई प्रदेशसभाभित्रै रोकिएको आरोपसहित जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रतिक्रिया दिएका छन्।
उनका अनुसार प्रहरीको कडाइका बीच करिब ४० मिनेटसम्म सांसदहरूलाई भवनभित्रै थुनिएको थियो। पछि सुरक्षाकर्मीहरूको रोहबरमा उनीहरूलाई बाहिर निकालिएको हो।
थुनिएकामध्ये लोसपाका जयनुल राइन, उपेन्द्र महतो, रानी शर्मा तिवारी, रूपा यादव, माओवादी केन्द्रका भरतप्रसाद साह, जनमतका महेश प्रसाद यादव, जसपा नेपालका राजु गुप्ता र जनमतका चन्दन सिंहलगायत सांसद रहेका थिए।
सांसदहरूले यो घटनालाई लोकतान्त्रिक मूल्य मान्यताको उल्लङ्घन भन्दै विरोध जनाएका छन्।
उनीहरूका अनुसार सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोज्दा प्रहरीको सहयोगमा प्रवेश अवरोध गरिएको थियो।