ट्रेन्डिङ

मधेस प्रदेशका सभामुख मण्डलविरुद्ध सात दलको अविश्वास प्रस्ताव, सचिवालयमा एमाले कार्यकर्ताको अवरोध

जनकपुर। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलीय गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको विवादास्पद नियुक्तिको विरोध गर्दै गठबन्धनका सांसदहरू बिहीबार ६४ जना सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालय पुगेका हुन् ।

अविश्वास प्रस्ताव दर्ताका क्रममा नेकपा (एमाले) का कार्यकर्ताले सचिवालय परिसरमा अवरोध सिर्जना गर्ने प्रयास गरे पनि सात दलीय गठबन्धनका सांसदहरू अवरोध पार गर्दै उपसभामुख बबिता कुमारी राउत ईशरको कार्यकक्षमा पुगेका थिए ।

संविधान र प्रदेश सभा नियमावलीअनुसार सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएमा त्यसमाथि तोक लगाउने जिम्मेवारी उपसभामुखको हुने व्यवस्था छ ।

त्यसअनुसार उपसभामुख ईशरले सात दलले दर्ता गरेको प्रस्तावमाथि तोक लगाइसकेकी छन् ।

तर, जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार, सभामुख मण्डलले प्रशासनिक कर्मचारीलाई निर्देशन दिँदै उक्त प्रस्ताव आधिकारिक रूपमा दर्ता हुन नदिइरहेका छन् ।

उनले भने, “सभामुखले आफूविरुद्धको प्रस्ताव रोक्ने प्रयास गरेका छन्, जसले प्रदेशसभाको मर्यादामाथि प्रश्न उठाएको छ ।”

सात दलीय गठबन्धनमा नेपाली कांग्रेस, लोसपा नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपा नेपाल सामेल छन् ।

गठबन्धनले सभामुख मण्डलको कार्यशैली निष्पक्ष नदेखिएको र उनले प्रदेशसभाको गरिमा उल्लङ्घन गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै