रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा सात दलले बिहीबार रौतहटको गौरमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।
सात दलको संयुक्त नेतृत्वमा आयोजित विरोध जुलुस गौर बजारका विभिन्न सडक परिक्रमा गर्दै प्रमुख चोकमा पुगेर कोणसभा रूपमा परिवर्तन भएको थियो ।
विरोध प्रदर्शनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष बाबुलाल साह, सहमहामन्त्री अनिल सिंह, मधेश प्रदेश सचिव ओम लोक पटेल, नेकपा (एस) का केन्द्रीय सदस्य रेवन्त झा, नेकपा (माओवादी केन्द्र) गौर नगर अध्यक्ष चन्देश्वर राउत, नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष श्रीराम यादव, कांग्रेस गौर नगर अध्यक्ष मोहन यादव, जनमत पार्टी रौतहट जिल्ला इञ्चार्ज शेख जम्सैद र जसपा नेता पूर्व राज्यमन्त्री योगेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
नेताहरुले मुख्यमन्त्री सरोज यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै त्यसको तत्काल खारेजीको माग गरेका छन् ।
उनीहरूले प्रदेशमा संविधानको मर्म र लोकतान्त्रिक प्रक्रियाको रक्षा गर्न सबै दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
जुलुसमा सहभागी कार्यकर्ताहरूले ‘संविधान मिच्ने सरकार हटाऊ’, ‘लोकतन्त्रको रक्षा गर’ लगायतका नारासहित प्रदर्शन गरेका थिए ।
