जनकपुर। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेश प्रदेशमा संविधानविपरीत ढंगले सरकार गठन गरिएको भन्दै कडा आपत्ति जनाएको छ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा संविधानको धारा १६८ को (२) र (३) अनुसार सरकारले प्रक्रियागत मान्यता नदिई गैरसंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्ति गरेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संविधान र लोकतान्त्रिक मूल्य विपरीत भएको छ, जसले प्रदेशको राजनीतिक मर्यादामाथि आघात पुर्याएको छ।”
लोसपाले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै संविधानअनुसार सरकार गठन गर्नुपर्ने बताएको छ।
साथै, जनकपुरधाममा प्रदर्शनका क्रममा लोसपाका नेता र कार्यकर्ता घाइते भएको घटनामा प्रहरीले गरेको बल प्रयोगप्रति पनि आपत्ति जनाएको छ।
विज्ञप्तिमा प्रहरीको दमन तत्काल रोक्न र दोषी प्रहरीमाथि कानूनी कारबाही गर्न नेपाल सरकारसँग माग गरिएको छ।
साथै, घाइते नेताहरूको स्वास्थ्य लाभको कामना गर्दै पार्टीले यस घटनाको भर्त्सना गरेको छ।
