जनकपुर । पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले सर्वोच्च अदालतको आदेशलाई मधेशका जनताको जीत भएको बताएका छन्।
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न मंगलबार अन्तरिम आदेश दिएपछि सोनलले जनकपुरमा गठबन्धन दलका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
सोनलले भने, “सर्वोच्च अदालतको यो आदेशले मधेशका ६४ लाख जनताको मनोभावनालाई कदर गरेको छ। जनताले न्याय पाएका छन्।”
उनले सर्वोच्च अदालतको फैसलाप्रति हार्दिक आभार प्रकट गर्दै न्यायपालिकाले लोकतान्त्रिक मूल्य र संविधानको मर्यादालाई जोगाएको बताए।
उनका अनुसार, “होटलमा गरिएको अवैध नियुक्ति विरुद्ध सर्वोच्चले लगाएको ब्रेकले जनतालाई न्याय दिएको छ।”
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिएको हो।
अदालतले रक्कीप्रसाद साहलगायतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।