ट्रेन्डिङ

नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

कार्की महानिरीक्षक पदका पहिलो दाबेदार थिए।

२०५४ चैत १८ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) का रूपमा सेवामा प्रवेश गरेका उनी २०२९ साउन १५ गते गुल्मीमा जन्मिएका हुन्।

उनी हाल उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा कार्यरत थिए।

जेनजी आन्दोलनको बहानामा उनको नियुक्ति रोकिने चर्चाबीच सरकारले वरीयताअनुसार न्याय गर्दै कार्कीलाई आईजीपी नियुक्त गरेको हो।

प्रहरी सेवाको क्रममा कार्कीले लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

इन्स्पेक्टर दर्जामा उनले इलाका प्रहरी कार्यालय काकडभित्ता (झापा) र आबुखैरेनी (तनहुँ) का प्रमुखका रूपमा काम गरेका थिए।
डीएसपी दर्जामा उनले इलाका प्रहरी कार्यालय बुटवल र काठमाडौंको प्रहरी वृत्त नयाँबानेश्वरको जिम्मेवारी सम्हाले।

उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुअघि कार्की प्रधान कार्यालयस्थित मानव स्रोत विकास विभागका प्रमुख थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै