ट्रेन्डिङ

निवर्तमान मुख्यमन्त्री सोनलको आरोप: ‘प्रदेशको अस्मिता होटलमै बेचियो’

जनकपुर । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि गम्भीर आरोप लगाएका छन्।

उनले भण्डारीले प्रदेशको अस्मितामाथि खेलबाड गरेको दाबी गरेका हुन्।

सोनलका अनुसार स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै भन्दै बाटोमा प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको शपथ खुवाएकी हुन्।

सिन्धुली र महोत्तरीको सीमामा पर्ने एक होटलमा यादवलाई शपथ ग्रहण गराइएको उनले बताएका छन्।

संविधानको धारा १६८(३) बमोजिम एमाले नेता यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरिएको भए पनि त्यसको शैली र स्थानले मधेस राजनीतामा ठूलो प्रश्न खडा गरेको छ।

सोनलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “मधेस प्रदेशका जनतासँग धोका भयो। स्वास्थ्य उपचारको बहानामा हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलभित्रै प्रदेशको अस्मिता समाप्त पार्ने कार्य गरिन्।”

उनले प्रदेश प्रमुखको कदमलाई न केवल असंवैधानिक, तर नैतिक दृष्टिले पनि कमजोर निर्णय भनेका छन्।

“एकातिर उनले अस्वस्थताको कारण देखाइन्, अर्कोतर्फ गुप्त रूपमा सत्ता हस्तान्तरणको खेल गरिन्,” सोनलले टिप्पणी गरेका छन्।

विश्वासको मत गुमाउने स्थिति आएपछि केही दिन अघि मात्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सात दलीय गठबन्धनले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको माग गर्दै दबाब बढाइरहेका बेला एमाले नेता यादवलाई अचानक मुख्यमन्त्री नियुक्त गरिएको हो।

राजनीतिक विश्लेषकहरूले यो घटनालाई “मधेस राजनीतिका लागि अर्को विवादास्पद अध्याय” भनेका छन्।

उनीहरूको भनाइमा, प्रदेश प्रमुखको यस्तो कदमले प्रदेशमा संघीयताको मूल्य र राजनीतिक नैतिकताप्रति गम्भीर प्रश्न उठाएको छ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै