वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत ठगीका घटना बढ्दै गएको भन्दै व्यापारीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरीका अनुसार केही व्यक्तिहरूले विभिन्न प्रतिष्ठित व्यावसायिक प्रतिष्ठानहरूको नक्कली बिल–भौचर तयार गरी सिमेन्ट, छड, मदिरा, मोटर पार्टस लगायतका सामानहरू ठगी गर्ने घटना दोहोरिँदै आएको पाइएको छ ।
यसै सन्दर्भमा प्रहरी प्रवक्ता एवम् डिएसपी हरिबहादुर बस्नेतले विज्ञप्ति जारी गर्दै कुनै पनि व्यापारिक कारोबार गर्दा पूर्ण रूपमा एकिन भएपछि मात्र कारोबार गर्न सबै व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “आधिकारिकता विनाका कुनै सामानहरू खरिद नगर्नुहोस्, अन्यथा प्रचलित कानुनअनुसार कारबाही हुनेछ।”
प्रहरीले ठगीमा संलग्न समूहको खोजी तीव्र रूपमा भइरहेको जानकारी दिँदै, व्यापारी तथा सर्वसाधारणलाई यस्ता क्रियाकलापमा नफस्न र शंकास्पद व्यवहार देखिए तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।
