ट्रेन्डिङ

सप्तरीमा जसपातर्फ जनलहर, पाँच सयभन्दा बढी कार्यकर्ताले एकैपटक थामे जसपाको झण्डा

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बर्मझियामा शनिबार सम्पन्न भव्य कार्यक्रममा पाँच सयभन्दा बढी नेता–कार्यकर्ताले विभिन्न राजनीतिक दल परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा)मा सामूहिक प्रवेश गरेका छन्।

अशोक राईको नेतृत्वमा रहेको जसपामा भएको यो सामूहिक प्रवेशलाई स्थानीयहरूले “राजनीतिक परिवर्तनको निर्णायक सुरुवात” का रूपमा लिएका छन्।

नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र लोसपा नेपालका कार्यकर्ताहरू समेत यस अवसरमा जसपामा प्रवेश गरेका छन्।

लोसपाका वडाध्यक्ष पदका पूर्व–प्रत्यासी अशोक मण्डलको नेतृत्वमा ५० जना, कांग्रेसका राहुल शेखको नेतृत्वमा २ सय ५६ जना, जनमत पार्टीबाट वडा सदस्यकी उम्मेदवार जुलसीदेवी रामको नेतृत्वमा ७० जना, जसपा नेपालबाट राजकुमार मण्डलसहित एक दर्जनभन्दा बढी र स्थानीय नेता भोला चौधरीको समूहका कार्यकर्ताहरूले पार्टी प्रवेश गरेका थिए।

कबड्डी हल नजिक आयोजित कार्यक्रममा बिहानदेखि साँझसम्म जनसागर उम्लिएको थियो। जसपाका झण्डा, ब्यानर र नाराले सम्पूर्ण क्षेत्र गुन्जिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री नवलकिशोर साह रहेका थिए भने विशिष्ट अतिथि जसपाका युवा नेता सुमित साह थिए।

जसपा नगर कमिटीका मेयर पदका उम्मेदवार भोला पासवानले कार्यक्रमको अध्यक्षता गरेका थिए।

मन्त्री साहले सम्बोधन गर्दै बर्मझियाको भगवती मन्दिर र मुस्लिम समुदायको कब्रिस्तानका लागि सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिए।

उनले भने, “तीन करोडको योजना कब्रिस्तानका लागि ल्याइसकेको छु। भगवती मन्दिर पनि निर्माण गरेरै छोड्छु। मेरो लागि सबै धर्म बराबर छन्, जबसम्म म छु, जनताको सेवामा कमी आउँदैन।”

साहले अब चुनावमा नउठ्ने घोषणा गर्दै भने, “अब मेरो उमेर भइसकेको छ। सुमितले जनताको सेवा निरन्तर गर्नेछन्, म सास लिने दिनसम्म जनताको पक्षमा रहन्छु।”

त्यसैगरी, जसपाका मेयर पदका उम्मेदवार भोला पासवानले नगरपालिकामा व्याप्त भ्रष्टाचार र विभेदको आलोचना गर्दै भने, “कञ्चनरुपमा सयौं पढेलेखेका युवाहरू छन्, तर अवसर पाउने सीमितहरू मात्रै हुन्। अब परिवर्तन आवश्यक छ, जसपाको विकल्प छैन।”

कार्यक्रममा जसपा वडा नं. २ का संयोजक रोहित साहले स्वागत मन्तव्य दिएका थिए।

समाजसेवी ताज शेख, समिद शेख, वडा नं. १ का उम्मेदवार रामदेव शर्मा, नगर अध्यक्ष अनिल कुमार पंजियार, जसपा नेता अर्जुन पंजियार, वडा अध्यक्षहरू रामसुन्दर यादव र दामोदर खड्गा, संयोजक रामदेव खंग, तथा नवप्रवेशी नेता राहुल शेख र अशोक मण्डललगायतले पनि सम्बोधन गरेका थिए।

आयोजकका अनुसार कार्यक्रममा करिब ७ सय ५० जनाभन्दा बढी सहभागी थिए।

नवप्रवेशीहरूले जसपाको नीतिप्रति विश्वास व्यक्त गर्दै भने, “अब देश र नगरको विकास जसपाबाटै सम्भव छ। भोला पासवानजस्ता इमानदार नेता दुर्लभ छन्।”

स्थानीयहरूले यो प्रवेशलाई “जनताको एकता र परिवर्तनको सुरुवात” भन्दै स्वागत गरेका छन्। गाउँभर गुन्जिएको थियो — “जय जसपा, जय जनताको नेतृत्व!”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै