जनकपुर । मधेश प्रदेशमा मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्ने अन्तिम क्षणमा संख्यात्मक संकटमा परेका छन्।
सत्ता गठबन्धनकै दल नेकपा (माओवादी केन्द्र) का दुई सांसदले सरकारलाई विश्वासको मत नदिने घोषणा गरेपछि सोनल सरकारको बहुमतको गणित कमजोर बनेको छ।
प्रदेशसभामा कुल १०७ सदस्य छन्। सरकारलाई विश्वासको मत दिलाउन कम्तीमा ५४ मत आवश्यक छ।
तर, हालको गणित अनुसार सोनल पक्षमा ५२ मत मात्र पुग्ने देखिएको छ।
सत्ता गठबन्धनमा लोसपा ८, जसपा नेपाल १८, जनमत पार्टी १३, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ गरी कुल ५५ सांसद छन्। यसमा नागरिक उन्मुक्ति पार्टीको १ मत जोडिँदा यो संख्या ५६ पुग्छ।
तर, माओवादीका रहबर अन्सारी र माला कर्णले विश्वासको मत नदिने घोषणा गरेपछि दुई मत घटेको छ।
त्यस्तै, जनमत पार्टीबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह प्रदेशसभामा अनुपस्थित रहेका छन्।
ती दुई सांसदको अनुपस्थितिले सोनल पक्षको मत संख्या थप घटेर ५२ मा सीमित भएको हो।
यो परिस्थितिमा सोनल सरकारलाई विश्वासको मत पाउन मुस्किल हुने देखिएको छ ।
जनमत पार्टीभित्र पनि पुराना विवाद अझ समाधान नभएका कारण विश्वासको मतको दिनै दुई सांसद अनुपस्थित रहनु सरकारका लागि अर्को चुनौती बनेको छ।
प्रदेश राजनीतिमा फेरि एकपटक सत्ता समीकरण बदलिने संकेत देखिँदैछ।
यदि सोनलले आज विश्वासको मत हासिल गर्न सकेनन् भने, मधेश प्रदेश पुनः राजनीतिक अनिश्चिततामा धकेलिने सम्भावना बलियो बनेको छ।