जनकपुर । मधेस प्रदेश सभाको बैठक केहीबेरका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सदनको बैठक १० मिनेटका लागि स्थगन गरेका हुन ।
मुख्यमन्त्री जितेन्द्र सोनलले सदनको बैठक केही स्थगनको माग गर्दा त्यसको बेवास्ता गर्दै बैठक सञ्चालन गर्न खोजेपछि सत्तारुढ दलका सांसदहरुले त्यसउपर विरोध जनाएका थिए ।
सत्तारुढ दलकै सांसदहरुले सदनमा सरकारका कुनै मन्त्री उपस्थित नरहेको भन्दै विरोध जनाएर सदनको बैठक स्थगनको माग गर्न थालेपछि सभामुख मण्डलले १० मिनेटका लागि सदनको बैठक स्थगित गरेका हुन ।
यसअघि सदनको बैठकमा बोल्दै माओवादीका प्रदेश सांसद रहबर अन्सारीले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गरिसकेका छन् ।
उनीसहित माओवादीका अर्की सांसद माला कुमारी कर्णले पनि विश्वासको मत नदिने घोषणा गरेकी छन् ।
सत्तारुढ दलकै सांसदहरुले विश्वासको मत नदिने जनाएपछि मुख्यमन्त्री सोनलको सरकारलाई सकस भएको हो । मूलतः यही विषयमा छलफल गरेर टुंगो लगाउनका लागि सदनको बैठक तत्कालका लागि रोकिएको हो ।