ट्रेन्डिङ

बिहारमा आज पहिलो चरणको मतदान, ठूला नेताहरूको राजनीतिक भविष्य दाउमा

वीरगन्ज । भारतको बिहार राज्यमा बिहीबारदेखि विधान सभा निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ।

पहिलो चरणमा १८ जिल्लाका १२१ विधान सभा सिटका लागि मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्दै छन्।

बिहारको राजधानी पटना पनि पहिलो चरणमै मतदान हुने जिल्लामा परेको छ।

यस चरणमा उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवजस्ता चर्चित नेताहरू प्रतिस्पर्धामा छन्।

बिहार विधान सभा निर्वाचन यसपटक दुई चरणमा सम्पन्न हुने कार्यक्रम रहेको छ।

पहिलो चरणको मतदान ६ नोभेम्बर (२० कात्तिक) र दोस्रो चरण ११ नोभेम्बर (२५ कात्तिक) मा हुनेछ।

निर्वाचन आयोगले १४ नोभेम्बर (२८ कात्तिक) मा नतिजा सार्वजनिक गर्ने जनाएको छ।

कुल २४३ सिटका लागि भइरहेको यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी महागठबन्धनबीच रहनेछ ।

एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चा आबद्ध छन्।

त्यस्तै, महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया, सीपीआई (एम) र सीपीआई (एमएल) सामेल छन्।

महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको छ भने एनडीएको नेतृत्व भाजपा र जनता दल (युनाइटेड)ले गरिरहेको छ।

बिहारमा यसपटक कुल ७ करोड ४३ लाखभन्दा बढी मतदाता रहेका छन्।

तीमध्ये करिब ३ करोड ९२ लाख पुरुष र ३ करोड ४९ लाख महिला मतदाता रहेका छन्।

त्यसैगरी करिब १४ लाखभन्दा बढी १८ देखि १९ वर्षका मतदाता पहिलो पटक मतदान गर्दैछन् भने ७ लाखभन्दा बढी अपाङ्गता भएका मतदाता र १७ सयभन्दा बढी तेस्रोलिंगी मतदाता पनि मतदान प्रक्रियामा सहभागी हुनेछन्।

सिमानामा पर्ने भएकाले नेपालसँग प्रत्यक्ष सम्बन्धित बिहारको यो निर्वाचन दक्षिण एशियाली राजनीतिको दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै