जनकपुरधाम । मधेश प्रदेश सभा सदस्य किरणकुमारी साह र उनका पति विनोदकुमार साह माथि ८० वर्षीय सासू–ससुराले घरबाट निकालेको र घरजग्गा कब्जा गरेको गम्भीर आरोप लगाएका छन्।
राजविराज–७ का देवनारायण साह र उनकी पत्नी शान्तिदेवीले न्याय माग्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि यो विवाद छताछुल्ल भएको हो।
देवनारायण साहले छोरा बुहारीले असोज २० मा आफूहरू मन्दिर गएको मौका पारी दराज फुटाएर नगद र घरजग्गाका कागजात चोरी गरेको र त्यसपछि धाक लगाएर घरबाट निकालेको आरोप लगाएका छन्। उनले इन्जिनियर र डाक्टर बनाएका छोराछोरीले नै अहिले आफूलाई बेघर बनाएको दुखेसो पोखेका छन्।
यता, जसपा नेपालकी समानुपातिक सांसद किरण साहले भने आरोपहरू निराधार भएको दाबी गरेकी छन्। उनका अनुसार ‘सेफ्टी ट्यांक’ सफा गराउने विषयमा बुवा–छोरामा सामान्य विवाद भएको थियो र नन्दको घरमा गएका सासू–ससुरा आफैं नफर्केको बताइन् । पति विनोदकुमारले समेत बुवालाई व्यवस्थित काम गर्न पैसा माग्दा उल्टै बुवाले हातपात गरेको आरोप लगाएका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले भने देवनारायण साहको नाममा हालसम्म कुनै औपचारिक उजुरी नआएको बताएका छन् ।