ट्रेन्डिङ

बारामा टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु, चालक नियन्त्रणमा

वीरगन्ज। बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडक खण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार, रामपुर टोकनीबाट लिपनीतर्फ जाँदै गरेको ना. १ ज ७३७३ नम्बरको टाटा सुमोले बाटोमा हिँडिरहेका ६५ वर्षीय गौरीशंकर साहलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको हो।

दुर्घटनापछि अनियन्त्रित भएको सुमो नजिकैको बिजुलीको पोलमा ठोक्किन पुग्दा पोलसमेत भाँचिएको प्रहरीले जनाएको छ। टाटा सुमो हाल घटनास्थलमै रहेको बताइएको छ।

घटनापश्चात् प्रहरीले सुमो चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–७ बलुवाका २२ वर्षीय राजन साह कानु रहेका छन्। उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रसौनी, बारामा राखिएको छ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय परवानीपुरबाट प्रहरी नायब निरीक्षक दिपक कुमार बस्नेतको कमाण्डमा टोली खटिएको थियो भने मुचुल्का कार्यका लागि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा अर्को टोली समेत पुगेको थियो।

मृतक गौरीशंकर साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारा पठाइएको छ। दुर्घटनामा संलग्न सुमोलाई इलाका प्रहरी कार्यालय प्रसौनीको नियन्त्रणमा राखि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै