वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले जनाएअनुसार, पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. १७ अलौ बस्ने २५ वर्षीय साहजिम मियाँ अन्सारी रहेका छन्।
उनीमाथि २०७८ साल वैशाख ३ गते साँझ करिब ५ बजे सोही स्थानकी २२ वर्षीया रबिना खातुनलाई दाइजोको विषयलाई लिएर मानसिक यातना तथा कुटपिट गरी कर्तव्य ज्यान गरेको आरोप थियो। वारदातपश्चात साहजिम मियाँ अन्सारी फरार रहेका थिए।
यस मुद्दामा अदालतले उनलाई १ वर्ष कैद र दश हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
लामो समयदेखि फरार रहेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आज बिहान ८: ३० बजे उनको घर अलौबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ पश्चात् प्रतिवादी साहजिम मियाँ अन्सारीलाई थप कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन्।