वीरगन्ज। बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको संयुक्त प्रभावका कारण मधेश प्रदेशसहित देशका धेरै भागमा मौसम प्रतिकूल बनेको छ।
मौसम विश्लेषणका अनुसार, यो मौसमी प्रणाली कमजोर भई हाल न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आइपुगेको छ, जसको सीधा असर मधेश प्रदेशमा पर्ने देखिएको छ।
हाल मधेश प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने देशभर साधारणतया बदली रहेको छ।
मौसम विश्लेषणले दिएको चेतावनी तथा परामर्श अनुसार, मधेश प्रदेशमा बुधबार रातीदेखि कार्तिक १५ गते शनिबारसम्म मौसम पूर्ण रूपमा प्रभावित हुनेछ। शनिबारबाट क्रमिक रूपमा मौसममा सुधार आउने सम्भावना रहेको छ।
यस अवधिमा मधेश प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातका क्षेत्रमा असर पर्न सक्ने चेतावनी जारी गरिएको छ।
यसर्थ, मधेश प्रदेशका बासिन्दाहरूलाई सम्भावित जोखिमबाट बच्नका लागि अत्यावश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाहरूको जानकारी निरन्तर लिइरहन मौसम विभाग तथा सम्बन्धित निकायहरूले अनुरोध गरेका छन्।