ट्रेन्डिङ

मन्त्रिपरिषदको निर्णय : राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत, माघ ११ मा राष्ट्रिय सभा निर्वाचन

वीरगन्ज । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले दिएको जानकारी अनुसार, राष्ट्रपति पौडेलको नेतृत्वमा नेपाली टोली कात्तिक १७ देखि २० गतेसम्म कतारको औपचारिक भ्रमणमा जाँदैछ। उनी दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ नामक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

मन्त्रिपरिषद्को बैठकले गरेको अर्को महत्त्वपूर्ण निर्णय गरेको छ । सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यहरूको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ।

मन्त्री खरेलका अनुसार, यो निर्णय संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गरेर गरिएको हो। यसबाट संसद्का पदाधिकारीहरूको स्वकीय सचिवालयको व्यवस्थापनमा कटौती हुनेछ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति पनि तोकेको छ। सरकारले आगामी माघ ११ गते आइतबार राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी गराए।

२०७६ सालको चुनावबाट निर्वाचित १९ जना सदस्यको कार्यकाल फागुनमा सकिने भएकाले निर्वाचन गर्न लागिएको हो। तीमध्ये एक जना (वामदेव गौतम) राष्ट्रपतिबाट मनोनीत सांसद भएकाले बाँकी १८ पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ, जसअनुसार माघ ११ गतेको मिति तोकिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै