ट्रेन्डिङ

बक्यौता विवादमा जगदम्बा स्टिल र सिन्थेटिक बन्द, २८ सय कर्मचारी बिदामा

वीरगन्ज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम शुल्क नतिरेको भन्दै बिजुली काटेपछि शंकर समूहअन्तर्गतका जगदम्बा स्टिल र जगदम्बा सिन्थेटिक उद्योग बन्द भएका छन्।

प्राधिकरणका अनुसार जगदम्बा स्टिलमाथि १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र जगदम्बा सिन्थेटिकमाथि २० करोड ५० लाख रुपैयाँ बक्यौता रहेको छ।

विद्युत् आपूर्ति रोकिएपछि उद्योग चलाउन नसकिने भन्दै समूहका उपाध्यक्ष सुलभ अग्रवालले दुवै उद्योगका २ हजार ८ सय कर्मचारीहरू (स्टिलमा २२०० र सिन्थेटिकमा ६००) लाई बिदामा पठाइएको जानकारी दिएका छन्। उनले लामो समय बन्द रहेमा तलबभत्ताको विषयमा थप निर्णय लिइने बताए।

उपाध्यक्ष अग्रवालले प्राधिकरणले ‘विद्युत् अतिरिक्त उपभोगको प्रमाण’ दिन नसकेको दाबी गर्दै प्रयोग नगरेको महसुल तिर्नु अन्याय हुने बताएका छन्।

प्राधिकरणले भने प्रिमियम शुल्क नतिर्ने देशभरका २५ उद्योगको लाइन काटिसकेको जनाएको छ। यसअघि मासिक महसुल नतिरेको भन्दै एभरेस्ट पेपर मिलको पनि लाइन काटिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै