वीरगन्ज । देशमा निर्वाचनको वातावरण तयार पार्ने उद्देश्यले प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र युवा पुस्ताका ‘जेनजी’ प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता आह्वान गरेकी छन् ।
यो महत्वपूर्ण वार्ता भोलि (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेगरी तय भएको छ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, विभिन्न आठ/नौ वटा युवा समूहका प्रतिनिधिहरू, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू र स्वयं प्रधानमन्त्री–मन्त्रीहरू सहितको यो उच्चस्तरीय वार्ता हुन लागेको हो।
बैठकको मुख्य एजेन्डा निर्वाचनको वातावरण निर्माणमा केन्द्रित रहनेछ। बैठकमा निर्वाचनको सहज वातावरण तयार गर्नका लागि सबै पक्षले आ–आफ्नो स्थानबाट खेल्नुपर्ने भूमिका, जिम्मेवारी र सहकार्यका विषयमा गहन छलफल हुने बताएको छ ।
राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन सरकारले युवा पुस्ताका सरोकारलाई समेत सम्बोधन गर्ने गरी वार्ता अगाडि बढाउन खोजेको देखिन्छ। प्रधानमन्त्री कार्कीको यो पहललाई देशको भावी राजनीतिक दिशा तय गर्न र सबै पक्षलाई समेटेर साझा सहमति निर्माण गर्न महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।