ट्रेन्डिङ

‘मोन्था’ चक्रवातको उच्च जोखिम : मधेशलगायत देशभर भारी वर्षा र बाढीको उच्च जोखिम

जनकपुरधाम। बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभावका कारण मधेश प्रदेशमा बिहीबार दिउँसोदेखि मौसममा व्यापक फेरबदल आउने भएको छ।

जल तथा मौसम विज्ञान विभागले आज एक विशेष बुलेटिन जारी गर्दै नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म करिब तीन दिन रहने उल्लेख गरेको छ। यस प्रणालीका कारण मधेश प्रदेशमा भारी वर्षा र बाढीको उच्च जोखिम रहेको भन्दै आम नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

चक्रवात ‘मोन्था’ आज (मंगलबार) राती भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने र त्यसपछि बिस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू–भाग नजिक आइपुग्नेछ। यसको प्रत्यक्ष प्रभाव बिहीबार दिउँसोदेखि नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसममा पर्नेछ। विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्नेछ।

भारी वर्षाका कारण मधेश प्रदेशमा ठूलो क्षति पुग्ने जोखिम रहेको विभागले जनाएको छ। विशेषगरी बागमती, कमला, कोशी र कन्काई नदी तथा यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ। यसका साथै, कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना उच्च रहेको छ। मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ।

चक्रवातले निम्त्याउन सक्ने वर्षा, बाढी र पहिरो लगायतका जोखिमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन लगायतका क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सम्बन्धित सबै निकायहरूलाई पूर्वतयारी अपनाउन भनिएको छ। विभागले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल र टोल फ्रि सेवा (११५५०) लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै